राजेशमान सिंहलाई लोसपा पार्टीबाट निस्कासन गर्यो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पर्साले नेता राजेशमान सिंहलाई पार्टीबाट निस्काशन गरेको छ ।

लोसपा पर्साका जिल्ला अध्यक्ष पुरुषोत्तम झाले बिहिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै नेता राजेशमान सिंहसहित केहि व्यक्तिलाई पार्टीबाट निस्काशित गरिएको जनाएका छन् ।

लोसपा गठन भएदेखि नै राजेशमान सिंहलगायतका नेताहरुको एउटा समूह पार्टीमा निस्क्रिय रहेको र निरन्तर पार्टी विरोध गतिविधि गरेको आएको आरोप लगाउँदै उनीहरुलाई पार्टीबाट निस्काशित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीबाट निस्काशित गरिने अर्का नेतामा प्रेमबाबु पटेल रहेका छन् ।

लोसपाले सिंहलाई निष्काशन गर्नुभन्दा नैं उनले पार्टी त्यागी सकेका छन् । उनी लोसपबाट अलगिएर नेकपा एमाले जान लागेका हुन् । सिंह एमाले प्रवेश गर्नुभन्दा पहिला नै निस्काशित गरेर लाेसपाले पार्टीको इज्जत जोगाउन मात्र खोजेको छ ।

सिंहले बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँमा भेटघाट गरेर लोसपा त्याग्दै एमाले प्रवेश गर्ने प्रतिबद्धता जनाई सकेका छन् । यस बारे जानकारी गराउन सिंहले शुक्रबार ३ बजेदेखि पत्रकार सम्मेलनको पनि आयोजना गर्दैछन् ।

एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि टिकेट पाउने आश्वासन पाएपछि सिंह एमाले प्रवेश गर्न लागेको स्रोतको दावी छ । फागुन १४ गते वीरगञ्जमा केपी ओलीको उपस्थितिमा हुने एउटा कार्यक्रममा सिंहले आधिकारी रुपमा एमाले प्रवेश गर्ने एमाले पर्साका एक नेताले बताए ।