एसईईपछिको शिक्षा : अर्काको लहलहैमा हैन, आफ्नो रुचि र क्षमताअनुसार पढ्नुपर्छ

काठमाण्डाै – एसईई पास भएपछि विद्यार्थीलाई कक्षा ११ मा पढ्न पाउने ढोका खुलेको छ । १० कक्षामा जस्तो ११ कक्षामा सबै विषय पढ्नु पर्दैन । ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी मुख्य विषय हुन । यी विषयमध्ये आफूलाई रुचि लाग्ने जुन विषय पढ्दा पनि हुन्छ ।

चिकित्सक, इन्जिनियरिङ, नर्सिङ लगायत विज्ञान वा प्रविधिमा रुचि हुनेहरुले विज्ञान विषय पढ्न सक्छन् । विज्ञान विषय पढ्ने निधो गरेका विद्यार्थीले अङ्ग्रेजी, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर र गणित विषयको अध्ययन गर्नुपर्छ ।

कसैलाई अर्थशास्त्रमा रुचि छ भने व्यवस्थापन, व्यवसाय, सल्लाहकार, लेखापाल, व्यावसायिक रणनीतिमा रुचि भएकाले व्यवस्थापन मुख्य विषय लिएर पढ्न सक्छन् । व्यवस्थापन पढेकाले होटल म्यानेजमेन्ट, पर्यटन, यात्रा, कम्प्युटर, गणित विषय विकल्पका रुपमा पढ्न पाउँछन् । व्यवस्थापन पढ्नेहरुले अङ्ग्रेजी, नेपाली, लेखा, अर्थशास्त्र, व्यवसाय अध्ययन जस्ता विषय पढ्नु पर्छ ।

यस्तै कला, संस्कृति, शिक्षा, सामाजिक क्रियाकलाप, राजनीतिक सल्लाहकार, एनजीओ, आईएनजीओमा रुचि हुनेले शिक्षा वा मानविकी विषय पढ्न सक्छन् । यो विषय पढ्नेले नेपाली, अङ्ग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, गणित, विज्ञान जस्ता विषय पढ्नु पर्छ ।

अर्काको लहलहै र करकापमा भन्दा पनि आफ्नो रुचि र क्षमता अनुसार उच्च शिक्षाको विषय र कलेज रोज्नुपर्छ ।

राम्रो विषय छानेर मात्र पनि हुँदैन । राम्रो विद्यालय कुन भन्ने पनि चिन्नु पर्छ । एसईई पास भएका विद्यार्थी प्रायः १५ देखि १७ वर्ष उमेरका हुने हुँदा धेरैलाई व्यावहारिक कुरा थाहा हुँदैन । राम्रो विद्यालय छान्दा अभिभावकले नै मार्ग निर्देशन गर्नु पर्छ ।

जे गर्दा विद्यार्थीले सफलता पाउँछन् त्यसैमा नै उनीहरुको भविष्य उज्वल हुन्छ । आफ्नाे इच्छा अनुसारको विषय पढ्न पाए धेरै अवसरहरु वृद्धि हुन्छ ।  सही मार्गनिर्देशन गर्न अभिभावक, समुदाय, विज्ञ र शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ । आमाबुबाले आफ्ना छोराछोरीको रुचि कस्तो छ भन्ने कुरा बुझ्नु पर्छ । भविष्यमा के बन्ने इच्छा छ भनेर पनि सोध्नु र बुझ्नुपर्छ । विद्यार्थीको पढाइको अवस्था कस्तो छ भनेर शिक्षकसँग सोधपुछ गरिरहनुपर्छ। छोराछोरीको उनीहरुका साथीहरुलाई पनि थाहा हुने भएकाले उनीहरुलाई पनि सोध्नुपर्छ ।

एसईईमा कम अङ्क आउँदा घर परिवार वा विद्यालयको वातावरणले विद्यार्थीलाई धेरै प्रभाव पार्छ । त्यसैले विद्यार्थीलाई धेरै दबाब दिनु हुँदैन । के कारणले थोरै नम्बर आयो, उसको रुचि के मा छ भन्ने कुरा बझ्नु पर्छ ।

शैक्षिक यात्रा जारी राख्ने चाहना भए फेरि परीक्षा दिने तयारी गर्नुपर्छ । शैक्षिक क्षेत्रमा रुचि नभए प्राविधिक क्षेत्र पनि रोज्न सकिन्छ । पढ्नै नपाउने होइन तर विद्यार्थीको रुचि अनुसारको योजना बनाउनु पर्छ ।

प्राविधिकतर्फ दैनिक जीवनमा काम लाग्ने धेरै सिप र तालिम दिने विषय हुन्छन् । विद्युतीय सिप, आधुनिक कृषि सिप, प्राथमिक स्वास्थ्य सेवा, मेकानिकल सिप लगायतका धेरै सिप सिक्न पाइने व्यवस्था नेपालमै छ । यस्ता सिप सिकेर गाउँघरमै राम्रो रोजगारी पाएकाहरु पनि धेरै छन् । यस्ता सिप सीटीईभीटी र प्राविधिक शिक्षाको व्यवस्था भएका अरु संस्थाबाट पनि लिन सकिन्छ ।