शिक्षक सेवा आयोगको परीक्षामा ८० प्रतिशत अनुत्तीर्ण, शिक्षा संकायको पढाइमाथि नै प्रश्न

 दक्ष शिक्षक छनोट भए सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्न सकिन्छ । तर शिक्षक छनोट गर्न शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको खुला विज्ञापनमा ८० प्रतिशत फेल भएका छन् । यसलाई विज्ञहरुले विश्वविद्यालयको शिक्षाशास्त्र संकायको शिक्षामाथि नै प्रश्न उठाएका छन् ।

विद्यालय शिक्षाको निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको १ हजार १ सय ६७ सिटका लागि ७५ हजार ७ सयले आवेदन दिएकामा ६७ हजारले परीक्षा दिएका थिए । नेपाली, अंग्रेजी, गणित, विज्ञानसहित १० विषयका लागि लिइएको परीक्षामा १३ हजार ९ सय ३९ अर्थात् २० दशमलव ७५ प्रतिशत मात्रै उत्तीर्ण भए । अर्थात् परीक्षा दिनमध्ये ७९ दशमलव २५ प्रतिशत फेल भए । कुल १ सय पूर्णांकमा ५० प्रतिशत ल्याए पास हुने व्यवस्था भए पनि यतिधेरै परीक्षार्थी फेल हुनुलाई आयोगले गम्भीर रुपमा लिएको छ ।

वैशाख ९ गते लिइएको परीक्षामा सबैभन्दा बढी गण्डकी प्रदेशमा ११ हजार ७ सय २८ परीक्षार्थी मध्ये २ हजार ८ सय ५५ अर्थात् २४ दशमलव ३४ प्रतिशत मात्र पास भए । लुम्बिनी प्रदेशमा सबैभन्दा कम १ हजार १ सय ८१ अर्थात् १७ दशमलव ७० प्रतिशत उत्तिर्ण भए ।

अघिल्लो वर्ष लिएको प्रावि, निमावि र मावि तहको परीक्षामा ८० प्रतिशत परीक्षार्थी नै फेल भएका थिए । त्यसो त विश्वविद्यालयमा शिक्षाशास्त्र संकायको गुणस्तर पनि खस्किँदै गएको छ । शिक्षामा स्तरीय जनशक्ति उत्पादन गर्न नसक्दाकै कारण शिक्षकको विज्ञापनमा धेरै फेल भइरहेका छन् । विद्यार्थी फेल हुनुमा धेरै वर्षदेखि विश्वविद्यालयको शिक्षा संकायको पाठ्यक्रम परिमार्जन नहुनु, शिक्षा विषय अध्ययनका लागि आउने विद्यार्थी कमजोर हुनुलगायतलाई कारण मानिएको छ ।

मेधावी विद्यार्थी शिक्षा विषय अध्ययनका लागि आकर्षित गर्न सरकार र विश्वविद्यालयले नयाँ योजना ल्याउन सकेका छैनन । शिक्षा संकायप्रति विश्वास बढाउन सके मात्र योग्य र सक्षम शिक्षक छनोट गर्न सहज हुनेछ ।