विद्यावारिधी गरेका नेताहरु पराजित

अक्कल कुँवर

काठमाडौं, पुष १ । राजनीतिक पार्टीमा बौद्धिक नेताहरु नभएको गुनासो गरिन्छ । जेलनेललाई नै राजनीतिको पहिलो योग्यता मान्ने चलन छ । देशको जेठो पार्टी नेपाली कांग्रेसको भर्खरै सम्पन्न १४ औं महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्रीजस्ता महत्वपूर्ण पदमा उठेका विद्यावारिधी (पीएचडी) डा. उपाधिधारीहरु पराजित भएका छन् । डाक्टरहरुप्रति मतदाताको वितृष्णा आफैंमा अनुसन्धानको विषय बनेको छ ।

अमेरिकाको प्रसिद्ध विश्वविद्यालयबाट कलेज टप गरेका पीएचडीधारी डा. मिनेन्द्र रिजाल र डा. प्रकाशरण महत कांग्रेसको १४ औं महामन्त्रीमा अस्वीकृत भए । आश्चर्य त के भने आआफ्नो गुटकै मतदाताले पनि उहाँहरुलाई पत्याएनन । सभापति देउवा र डा. शेखरका विश्वासपात्र महत तथा रिजाल आफ्नै कनिष्ट भाइ उमेरकाबाट लज्जास्पद हार व्यहोर्न बाध्य हुनुप¥यो । आफ्ना तीन काका बाउ घरैमा प्रधानमन्त्री भएको दृश्य देखेका डाक्टर शेखर कोइराला कांग्रेसभित्र लागेको रोग निमिट्यान्न पार्ने प्रतिवद्धतासहित चुनावी मैदानमा होमिनु भयो । मतदाताले हाईहाई त गरे तर नेतृत्वमा पत्याएनन । विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका अर्का पीएचडीधारी चन्द्र भण्डारीलाई भाषणमा रुचाए पनि भोटमा प्रतिनिधिहरुले पत्याएनन ।

यो सिलसिला यहीँ सकिदैन । महामन्त्रीमा प्रतिस्पर्धा गर्ने अर्का डा. राजाराम कार्कीको चुनावी उपस्थिति सुखद भएन । उहाँले त झन् १०६ भोटमै चित्त बुझाउनुप¥यो । १३ औं महाधिवेशनमा अपार मत पाएर महामन्त्री बन्नुभएका बीपीपुत्र अर्का डा. शशांक कोइराला महामन्त्रीबाटै विदाई हुनुभयो ।

कांग्रेस धेरै डा. धारी नेता भएको पार्टी भनेर चिनिन्छ । यही पार्टीबाट प्रतिनिधित्व गर्ने मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादव त्यसअघि पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । इतिहासमा अर्को संयोग के छ भने बीपी कोइरालासंग सभापतिमा प्रतिस्पर्धा गर्ने भूदेव राई पनि डा. नै हुनुहुन्थ्यो । बीपीका विश्वासपात्र डा. तुलसी गिरी समयक्रमसँगै पार्टीबाटै पलायन हुनुभयो । कांग्रेस मतदाताले बौद्धिकता नठम्याएका हुन या कार्यकर्ताको मन मस्तिष्कलाई त्यो बौद्धिकताले नछोएको हो, त्यसको निक्र्योल हुन जरुरी छ ।