धनुषाको सुगानिकासमा प्रहरी चौकीमा आगजनी

धनुषाको हंशपुर नगरपालिका-५, सुगानिकासमा दुई पक्षको झडपमा स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरी चौकीमा तोडफोड गरी आगजनी गरेका छन् ।

प्रहरी चौकीमा तोडफोड गरी प्रहरीको मोटरसाइकल जलाइएको छ । आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बन्धु शर्माले बताए। बिहीबार राति दुई पक्षको झडपमा स्थानीय ६० वर्षीय जयनरायण मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक शर्माले बताए

मण्डलको मृत्यु भएपछि स्थानीयले शुक्रबार बिहान प्रहरी चौकीमा आक्रमण गरी आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जना घाइते भएको शर्माले भने । स्थिति नियन्त्रणमा रहेको र विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक शर्मासहितको टोली घटनास्थल पुगेको छ ।