इराकमा समलिङ्गी सम्बन्धलाई अपराध घोषणा गर्ने विधेयक पारित

इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध घोषणा गर्ने विधेयक पारित गरेको छ । इराकी संसद्ले पारित गरेको विधेयकअनुसार समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ ।

नयाँ कानुनअनुसार तेस्रो लिङ्गीसँग सम्बन्ध राख्नेलाई पनि एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्नेछ । नयाँ कानुनले देशको धार्मिक मूल्यलाई कायम राख्न मद्दत पुग्ने इराकी अधिकारीले दाबी गरेका छन् । तर विरोधीले भने नयाँ कानुनमार्फत सरकारले अल्पसङ्ख्यकको अधिकार हनन गरेको आरोप लगाएका छन् ।

इराकले यसअघि सन् १९८० मा बनेको वेश्यावृत्ति विराेधी कानुनलाई संशोधन गर्दै समलिङ्गी सम्बन्धलाई अपराध मानेको बीबीसीले जनाएको छ । सन् १९८० मा बनेको कानुनमा वेश्यावृत्तिमा संलग्न हुनेलाई मृत्युदण्डको सजाय हुन सक्ने व्यवस्था रहेकोमा यस पटकको संशोधनमा मृत्युदण्डको व्यवस्था भने हटाएको छ ।