मधेसमा आगलागीको कहर, मुख्यमन्त्री भन्छन्ः अग्निपीडितलाई राहत दिन्छौँ

आगलागीले मधेसका आठवटै जिल्लामा घर, धन सम्पत्ति, खाद्यान्नलगायतमा क्षति भइरहेको छ। गत सोमबार पर्साको सदरमुकाम वीरगञ्जको अलौमा आगलागी हुँदा सात परिवारलाई घरबारविहीन भए। उक्त आगलागीले आफ्नो घरसहित छिमेकीको घर पनि जल्दा करोडौंको क्षति पुगेको अदालत साहले बताए।

सात वटा घर जल्दा छोराको बिहेकै दिन घरको सबै सामान जलेर खरानी भएको सोही स्थानका अग्निपीडित मैना साहले बताए। उनले सबै सामान जलिसकेकोले सरकारले आफूहरुलाई राहत दिनुपर्ने बताए।

 

त्यस्तै, गत बुधबार दिउँसो महोतरीको मटिहानी नगरपालिका–६ जरलहवामा भएको आगलागीले बस्ती नै सखाप भएको छ। आगलागीबाट डेढ सयभन्दा बढी घर जलेर नष्ट भएका छन्। आगलागी पीडितका लागि राहतको पहल गरिरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।

यस्तै, शुक्रबार दिउँसो रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् लाखौंको धनमाल जलेको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको मन्सरी गाउँका आनन्द झाको गोठमा बिजुली सर्ट भई आगो लाग्दा गोठ पूर्णरूपमा नष्ट भयो।

यस्तै, धनुषाको हंसपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ। हंसपुर नगरपालिका–२ बघचौडाका स्थानीय श्यामनाथ साहको सामान राख्ने घरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको थियो।

आगलागीबाट घरबारविहीन बनाएकाहरुलाई सकेसम्म प्रदेश सरकारले राहत दिने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए।हावाहुरीको मौसममा दैनिक भइरहेको आगलागी नियन्त्रणका लागि मधेसमा गोठमा घुर बाल्ने काम बन्द गर्नुपर्ने मुख्यमन्त्री यादवको सुझाव छ।

‘हाम्रो मधेसतिर गोरुभैंसी बाध्ने ठाउँमा घर बाल्ने चलन छ, त्यसले पनि छिट्टै फुसको घरमा आगलागी भइहाल्छ। त्यसकारण घुरहरु बाल्दा त्यस्तै नछाडौँ,’ उनले भने, ‘हामीसँग म्यानपावरको पनि कमी छ तर आगलागीबाट पीडित भएकाहरुलाई प्रदेश सरकारले राहत दिन्छ।’

  • देश सञ्चारबाट