जापानमा साढे १२ सय वर्ष पुरानो एक महोत्सवमा पहिलो पटक महिलाको सहभागिता

जापानको समुद्री तटमा एक हजार दुई सय ५० वर्षअघि शुरु भएको नग्न महोत्सवमा पहिलो पटक महिला पनि सहभागी भएका छन् । मध्य जापानको कोनोमिया तीर्थस्थलमा हदाका मात्सुरी अथवा नाङ्गो महोत्सव मनाउन थालेको १२ सय ५० वर्षपछि महिलाले सहभागिता जनाउन पाएको र यो ठूलो उपलब्धि भएको जापानका महिला अधिकारकर्मीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

महोत्सव अर्थात पर्व मनाउने क्रममा समुद्री तटमा पुरुषहरू धकेलाधकेल गर्दै तीर्थस्थलतर्फ जान्छन् । उनीहरु वाशोई ! वाशोई ! अर्थात जाऔँ, जाऔँ भन्दै चिच्याउँछन् । पर्वमा दुष्ट आत्मालाई भगाउने विश्वास गरिन्छ । यस वर्ष पुरुषहरुको समूह भन्दा केही टाढा रहेर महिलाहरुको एउटा समूह पनि सहभागी भएको हो ।

महोत्सवमा सहभागी महिलाहरुले नग्न नभइ एकैखालको परम्परागत कोट लगाएका छन् । लामो समयदेखि महिलाहरुले महोत्सवमा सहभागिताका लागि माग गर्दै आएकोमा यस वर्ष पूरा भएको बीबीसीको खबरमा उल्लेख छ ।

आर्थिक रुपमा सफल र विकसित देश भए पनि जापान लैङ्गिक सहभागिताका दृष्टिमा कमजोर छ । विश्व आर्थिक फोरमको सन् २०२३ को लैङ्गिक अन्तर सूचकाङ्कमा एक सय ४६ देशमध्ये जापान एक सय २५ स्थानमा छ । आइसल्याण्ड पहिलो, नर्वे दोस्रो र फिनल्याण्ड तेस्रो स्थानमा छन् ।