सहायता सामग्री पुर्‍याउन  क्षेत्रमा सीमा खोल्ने सम्झौता

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता शुरु गर्नुभएको छ ।

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा सहायता पुर्‍याउन भोलिदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताउनुभयो ।

गएको असोज २० गते अर्थात अक्टोबर ७ तारिख यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ ।

अक्टोबर ७ तारिखमा प्यालेस्टिनी विद्रोही समूह हमासले इजराइलमा आक्रमण गरेपछि द्वन्द्व चर्किएको छ ।

एक हजार चार सय भन्दा धेरैको ज्यान गएको अनुमान छ भने झण्डै दुई सय जनालाई हमासले बन्धक बनाएको आशंका छ । हमासको आक्रमण पछि इजराइलले गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् ।