रुसबाट कच्चा तेल किन्दा भारतलाई १ वर्षमै ४० अर्ब भारु फाइदा

भारतले रुसबाट कच्चा तेल किनेर एक वर्षमै ४० अर्ब भारतीय रुपैयाँ बचाएको छ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेपछि रुसी तेल नकिन्न युरोप र अमेरिकाको दबाबका बीच रुसबाट तेल किनेको भारतलाई ४० अर्ब भारु फाइदा भएको बीबीसी हिन्दीले जनाएको छ ।

रुसले भारतलाई विश्व बजारभन्दा सस्तोमा कच्चा तेल दिएकोले फाइदा भएको हो । सन् २०२२ मा भारतले रुसको तेल खरिद अघिल्लो वर्षको तुलनामा १० गुणाले बढाएको छ । रुस–युक्रेन युद्धले कच्चा तेलको मूल्य बढेको बेला भारतले अरू देशको खरिद घटाएर रुसको बढाएको हो ।

सन् २०२२ मा भारतलाई अरू देशको तुलनामा रुसको तेल किन्दा प्रतिटन झन्डै सात हजार तीन सय भारु फाइदा भएको बीबीसी हिन्दीले जनाएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि अमेरिका र युरोपको नाकाबन्दीमा परेको रुसले चीन र भारतलाई सस्तोमा कच्चा तेल उपलब्ध गराइरहेको छ ।