शेयर बजार २ अङ्कले घट्यो

दुई दिन घटेर हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज बुधवार फेरि ओरालो लागेको छ ।

शेयरबजार परिसूचक नेप्से आज दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।

बजार घटेकाे दिन दुई सय ६५ वटा कम्पनीकाे १९ लाख ४२ हजार कित्ता शेयर ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावर कम्पनीको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मन्दाकिनी हाइड्रो र जालपा सामुदायिक लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।