विनियोजन विधेयकमाथि छलफल प्रस्ताव पारित, संसद् बैठक असोज ४ गतेसम्मका लागि स्थगित

‘बहुमतको आधारमा विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पारित भएको हो ।  प्रस्ताव पारित गरेपछि संसद् बैठक असोज ४ गतेसम्मको लागि स्थगित भएको छ । सभामुखले एमाले फुटाउन भूमिका खेलेको र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै लगातार संसद् अवरोध गर्दै आएको छ ।

एमालेकै विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट प्रस्तुत गरिसक्नुभएको छ । संसदको अवरोध हटाउन हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राख्नुभएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट छ ।