बाराको निजगढमा रहेको तारा ईन होटलमा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलिले शनिबार छापामारी गरी ४ जनालाई नक्कली भारतीय नोट सहित पक्राऊ गरेको छ ।
शनिबार बिहान ८ बजे प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलिले बारा प्रहरीको सहयोगमा तारा ईन होटलमा छापामारी गरी ५० लाख भन्दा बढी नक्कली भारतीय रुपैयाँ सहित ४ जनालाई पक्राऊ गरेको श्रोतले जनाएको छ तर प्रहरीले समाचार तयारपार्दासम्म आधिकारिक पुष्टि भने गरेको छैन ।
पक्राऊ परेका ४ जना व्यक्ति ६–७ महिना देखि उक्त होटलमा आउ जाऊ गर्ने गरेका र होटलमा बस्दा आफूहरु जग्गाको कारोबारी भएको बताउदै आएका थिए । पक्राऊ पर्ने व्यक्तिहरुले चढ्ने बा १४ च ९३८२ नम्बरको स्कार्पियोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी श्रोतका अनुसार निजगढको तारा ईन होटलबाट पक्राऊ परेका व्यक्तिहरुको बयानको आधारमा शनिबार नै रौतहटबाट पनि केही व्यक्तिहरु भारतीय नक्कली नोट सहित पक्राऊ परेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुलाई जीपमा बसाउनेक्रममा पत्रकार महासंघ बाराकी उपाध्यक्ष मनिता पाण्डेले आफ्नो मोबाईलबाट फोटो खिचेपछि प्रहरीले मोबाईल नियन्त्रणमा लिई फोटो डिलिट गरी फिर्ता गरेको थियो । प्रहरीको यस कार्यको पत्रकारहरुले बिरोध समेत गरेका थिए ।