संसदमा थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन

संघीय संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । संघीय संसदमा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी थपिएका छन् । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो ।

सबै दलका नेताहरू अगाडि रहने गरी र अन्य सदस्यहरू क्रमशः पछाडि रहने गरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिसभामा सभामुखको दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष रहने गरी व्यवस्था मिलाएको उहाँले बताउनुभयो । सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने छन् ।

सत्ता पक्षतर्फ दायाँतर्फबाट क्रमशः कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहनेछन् । प्रतिपक्षतर्फ क्रमशः एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहने गरी सिटको व्यवस्थापन मिलाइएको छ । स्वतन्त्र सांसदका लागि बीचमा सिटको व्यवस्थापन गरिएको छ । राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष रहने गरी व्यवस्था मिलाइएको छ ।

सत्ता पक्षतर्फ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहनेछन् भने प्रतिपक्षतर्फ एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहने गरी व्यवस्था मिलाइएको छ । संसद्को यस अधिवेशनमा संसदमा पेस भइसकेका १३ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।