गाईको शव व्यवस्थापनमा २५ हजार रुपैयाँ घुस माग !

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित हनुमान दरबारमा गाईको मृत्यु भएपछि सोको शव व्यवस्थापनका लागि पुजारी रामबालक दास वैष्णवले वडा कार्यालयमा जानकारी गराएका थिए । वडा उपमहानगरको ४ नम्बर वडा कार्यालयले जनकपुरधाम उपमहानगरपालिकालाई आवश्यक पत्र पठायो ।

तर उपमहानगरपालिकाको कार्यालयका सरसफाई शाखाका प्रमुख उपेन्द्र साहले वडाको सिफारिसपत्रका बाबजुद पनि २५ हजार रुपैयाँ माग गरेको पुजारी रामबालकको भनाइ छ । सरसफाई शाखा प्रमुख उपेन्द्रले गाईको शव व्यवस्थापनका नाममा २५ हजार रुपैयाँ घुस माग गरेको तर आफूसँग पैसा नभएकाले निराश भएर फर्किएको उनको भनाइ छ । यसबारेमा उपेन्द्र साहसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्न चाहेनन् ।

आफूले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका स्वकीय सचिव सुमित साहलाई समेत गाईको शव व्यवस्थापनका लागि आग्रह गरेको तर उनले पनि कुनै वस्ता नगरेको रामबालकले रातोपाटीलाई बताए ।बुधबार बिहानै गाईको मृत्यु भएपछि हनुमान दरवार र स्थानीय छिमेकीहरु सहित शवको व्यवस्थापनमा वडा कार्यालयदेखि जनकपुरधाम उपमहानगरको कार्यालय र सरोकारवालासँग पहल गरे पनि निरर्थक भएको स्थानीय उमेशचन्द्र झाले बताए ।

कसैले पनि वास्ता नगरेपछि बिहीबार दिउँसो गाईको शव दरवारकै प्रांगणमा व्यवस्थापन गरिएको पुजारी रामबालकले बताए ।उनले दरवारको प्रांगणमै सात फिट गहिरो खाल्डो खनेर गाईको शव व्यवस्थापन गरेको बताए ।