काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महान्यायाधिवक्ताको कार्यालय भवनको गुणस्तरको अनुगमन गरेको छ । रामशाह पथमा रहेको भवनको गुणस्तरको विषयमा गुनासो गरेपछि अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले सोमबार दिउँसो निरीक्षण गरेको हो ।
‘महान्यायाधिवक्ताको कार्यालय भवनको निर्माण गुणस्तरीय नभएको सर्वसाधारणबाट गुनोस परेपछि आयुक्त डा. श्रेष्ठ र प्राविधिकहरुको टोलीले भवनको निरीक्षण गरेको हो,’ आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने ।
आइतबार राति काठमाडौं उपत्यकामा भएको भीषण वर्षपछि नवनिर्मित भवनमा पानी चुहिएर पार्किङ क्षेत्र जलमग्न भएको थियो । ‘निर्माणको डिजाइन र गुणस्तरमा समस्या हुनसक्ने प्रारम्भिक अनुगमनले देखाएको छ ।
हामीले निर्माणसँग सम्बन्धी सम्पूर्ण कागजातमा मगाएका छौं,’ आयुक्त डा. श्रेष्ठले भनिन्, ‘निर्माण कम्पनी, भवन डिजाइन गर्ने कन्सल्ट्यान्ट, अनुगमन गर्ने र भुक्तानी दिने सरकारी निकायलाई भवन निर्माण विषयमा जानकारी माग गरेका छौं ।’
भवन गत पुस ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । बेसमेन्टसहित ८ तल्ले भवन ९० करोड रुपैयाँमा निर्माण गरिएको थियो ।