भारतमा रहेका नेपाली श्रमिकको समस्या सम्बाेधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आईओएम)द्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली श्रमिकहरुको समस्यालाई सम्बाेधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारले आप्रवासी श्रमिकहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको बताउनुभयो ।

वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवाला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशीलतामा परिचालन गर्ने सरकारको नीति रहेको पनि उहाँले बताउनुभयाे ।

कोराेना महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उहाँले बताउनुभयो । साथै विभिन्न देशबाट नेपालमा काम गर्न आउने आप्रवासीको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।