मङ्सीर २० गतेदेखि अनसन बसेका चौधरीले अनसन तोडे

पर्साको पटेर्वासुगौली गाँऊपालिका वडा नम्बर ३ का २४ वर्षीय युवा रामजनम चौधरीले गाउँपालिकामा हुने गरेका अनियमितता, बेथिती र कु-शासनको विरुद्ध मङ्सीर २० गते देखि सुरु गर्नु भएको आमरण अनसन आज तोड्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा स्थानीय प्रशासन , पालिका प्रमुख , उप-प्रमुख , पालिकामा बिभिन्न शाखा प्रमुख , सञ्चारकर्मीहरुको उपस्थितीमा अनसनकर्ता युवासंग गरिएको वार्ता सहमतीमा पुगेपछि अनसन बिहीबार दिउँसो साढे तीन बजे तोडिएको हो । नेकपा माओवादीे केन्द्रका जिल्ला सचिव बालेश्वर चौधरी , पालिका प्रमुख हरिनारायण चौधरी र सहायकप्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेले जुस खुवाएर अनसन तोडाउनु भएको हो ।
मङ्सिर १५ गतेदेखि १९ गतेसम्म धर्नामा बसेका र माग पुरा नभएपछि मङ्सिर २० गतेदेखि आमरण अनशन सुरु गरेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि २६ गतेदेखि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको थियो ।
अनसनमा बसेका चौधरीले अस्पतालमा औषधी र स्लाईन बाहेक ठोस खाने कुरा नखाएको चिकित्सकहरूले बताएका छन् । हिजो अस्पतालमा पुगेर मानव अधिकारकर्मीले स्वास्थ्य अवस्थाका बारेमा बुझेका थिए । गाउँपालिका र वडा कार्यालयहरूमा कर्मचारीहरू समयमा उपस्थित भई काम गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नुपर्ने, गाउँपालिकामा भएका विकास कार्यको उपलब्धिबारे स्थानीयवासीलाई जानकारी गराउनुपर्ने, गाउँपालिका अन्तर्गतका खेलाडीहरूका लागि खेलमैदान, प्रतियोगिता, प्रशिक्षकको व्यवस्था, तलब भत्ता तथा खाने-बस्ने व्यवस्था गर्नुपर्ने, कृषिलाई आधुनिकीकरण गर्न मल खाद तथा उपकरणहरूको सुविधा उपलब्ध गराउनुपर्ने, लगायतका बिभिन्न १० सुत्रिय माग राख्दै चौधरीले आमरन अनसन सुरु गर्नु भएको थियो ।
पालिकाका कर्मचारीलाई थप जिम्मेवार बनाउने , पालिकाको अधिकार क्षेत्र भित्रका अहिले गर्न सकिने सबै माग सम्बोधन गर्ने र पालिकाको क्षेत्राधिकार भित्र नपर्ने माग सम्बोधनका लागि सम्बन्धित निकाउमा लेखी पठाउने सहमती भएको नेकपा माओवादीे केन्द्रका जिल्ला सचिव बालेश्वर चौधरी जानकारी दिनु भयो ।