सहरी सडकको काम भएन

धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्य व्यापारिक केन्द्र तथा हाल प्रदेश राजधानीसमेत रहेको धनगढीको चौराहदेखि कैलाली नाला पुलसम्मको मुख्य सडक निर्माण गर्न सम्झौता भएको एक वर्षसम्म पनि काम सुरु भएको छैन ।
हालको पुरानो सडक संरचनाले धुलाम्य र कुरूप बनेको धनगढीको मुख्य बजार क्षेत्र ट्राफिक चौराहदेखि कैलाली नालासम्म १.३८० किलोमिटर लम्बाइ सडक निर्माण गर्न पोहोर साल नै ठेक्का सम्झौता भएको थियो । २४ मिटर चौडाइमा चार लेन, फुटपाथ र साइकल लेन निर्माण गर्नुपर्ने प्राविधिक सम्झौतामा उल्लेख छ । सडक निर्माणमा ढिलाइ भएपछि धनगढीका स्थानीयले गुनासो गरेका छन् ।

कैलाली र कञ्चनपुरमा सुरु गरिएको आधुनिक सहरी सडक निर्माण कार्यमा ठेक्काको सर्तअनुसार तीव्र रूपमा काम गर्नुपर्ने भए पनि सुस्तता देखिएको हो । ०७७ असारमा कैलाली र कञ्चनपुरका गरी ४ वटा नगरमा ३९ वटा सहरी सडक निर्माणका लागि निर्माण कम्पनीहरूसँग सम्झौता भएको थियो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि एक वर्षको अवधिमा झन्डै २२ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको आयोजना कार्यान्वयन इकाइ कार्यालयले जनाएको छ ।

क्षेत्रीय सहरी विकास आयोजना इकाइ धनगढीले झन्डै २ अर्ब ५६ करोड लागतमा कैलाली र कञ्चनपुरका दुई/दुई नगरमा ३९ वटा आधुनिक सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । जसअनुसार कैलालीका धनगढी उपमहानगरपालिका र गोदावरी कञ्चनपुरका भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा अत्याधुनिक सहरी सडक निर्माण योजना अघि बढाइएको थियो । ती नगरमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना पनि सम्झौतामा छ ।

धनगढी उपमहानगरपालिकाअन्तर्गत ७ वटा सडकको कुल लम्बाइ १०.२४ किलोमिटर निर्माणका लागि ७६ करोडमा कालिका कन्सट्रक्सनसँग सम्झौता भएको छ । तीमध्ये १.३८० किलोमिटर लम्बाइ रहेको धनगढी मुख्य सडक चौराहदेखि कैलाली पुलसम्मको योजना, मालपोत क्षेत्रको ४३० मिटर लम्बाइको योजना र २.७ किलोमिटरको गुल्म–चर्च रोडमा काम नै सुरु नै भएको छैन । ३.६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ७ सय मिटर लम्बाइको क्याम्पस रोड–जाखोरताल, ८ सय ७० मिटर लम्बाइ रहेको डिभोटी–पीपलचौतारा र १.१५ किलोमिटरको हसनपुर सडकमा नाली निर्माणको काम भइरहेको छ ।

कैलालीकै गोदावरी नगरपालिकामा पनि कालिका कन्स्ट्रक्सनले ६ वटा सडकको १६ किलोमिटर सडक निर्माणका लागि ४८ करोड १७ लाखमा सम्झौता गरेको छ । कार्यान्यन इकाइका इन्जिनियर कटुवालका अनुसार हाल गेटा आँखा अस्पतालदेखि जोनापुर, जोनापुरदेखि कत्था उद्योग, गेटा आँखा अस्पतालदेखि लालपुर, लालपुरदेखि गौरी, सिर्जनानगरदेखि चौकीडाँडा र चौकीडाँडादेखि चाक्ले खोलासम्मको सडकमा नाली निर्माणको काम भइरहेको छ ।

यसैगरी, कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा कुल ४.७७ किलोमिटर रहने तीनवटा सडक निर्माणका लागि सम्झौता गरेको छ । झलारीदेखि फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मको तीनवटै सडकमा काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । कञ्चनपुर सदरमुकाम क्षेत्रको भीमदत्त नगरपालिकामा जेडआईईसी लामा कन्स्ट्रक्सनले ८७ करोडमा कुल १४ किलोमिटरको २३ वटा सडक निर्माणको सम्झौता गरेको छ । तीमध्ये दुइटा सडक मदनचोक–दशरथ चोक र ट्राफिक चोक–बीपी चोक सडक चार लेन निर्माण हुने कार्यालयले जनाएको छ ।

कोरोना महामारी र अन्य कारणले निर्माण कार्यमा ढिलाइ भएको कार्यालयले जनाएको छ । ‘निर्माण कम्पनीहरूलाई काम तीव्र पार्न भनिरहेका छौँ,’ इन्जिनियर कटुवालले भने, ‘काम छिटोछरितो हुन धेरै कुराको संयोजन मिल्नुपर्ने हुन्छ । अहिले कामको स्पिड पनि बढेको छ ।’ उनले नाली निर्माण भए पनि कालोपत्रे गर्न खासै समय नलाग्ने बताए । साभार कान्तिपूरबाट