कांग्रेसमा अझै मतदान सुरु भएन : प्रतिनिधि बिहानैदेखि लाइनमा

मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन थालेका छन् । राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा रहेका मनदानस्थल बाहिर प्रतिनिधिहरु लाइनमा छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन् । उम्मेदवारहरु प्रतिनिधिको लाइनमै पुगेर भोट माग्दै छन् । भृकुटीमण्डप र प्रदर्शनी मार्गमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणबाटै विजयी हुनेमा देउवा समूह आशावादी छ ।

छुट्टाछुट्टै प्यानल बनाएका कोइराला, सिंह र निधिले भने चुनावलाई दोस्रो चरणमा लैजाने नीति लिएका छन् । दोस्रो चरणमा पुर्याउन सकेमा सबै एक ठाउँमा उभिएर देउवामाथि दबाब बढाउन सकिने उनीहरुको बुझाइ छ ।