आईसिपी नाका भएर १ लाख १२ हजार सवारी साधन भित्रिए

वीरगञ्जको एकिकृत जाँच चौकी (आई.सि.पी.) भन्सारको बाटो भएर चालु आर्थिक वर्षमा १ लाख १२ हजार २ सय ४१ सवारी साधनहरु भित्रिएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को साउन १ गते देखि मङ्सीर २४ गते सम्मको अवधिमा बिभिन्न सामग्री लोड भएका र नयाँ सवारी साधन गरी १ लाख १२ हजार २ सय ४१ सवारी साधनहरु भित्रिएको नेपाल ईन्टरमोडल यातायात विकास समिती आई.सि.पी.कार्यालयका प्रमुख कमल ज्ञवालीले जानकारी दिनु भयो ।
सोही अवधीमा एकिकृत जाँच चौकी (आई.सि.पी.) भन्सारको बाटो भएर १३ हजार ४ सय ३२ सवारी साधन बाहिरिएका छन् । एलपी ग्याँस बोकेका ६ हजार ५९ ग्यास बुलेट , पेट्रोल बोकेका ८ हजार ३० आयल ट्याङ्कर र डिजल बोकेका ३६ आयल ट्याङ्कर सोही अवधिमा नेपाल भित्रिएका छन् । त्यस्तैगरी ११ हजार १ सय ३८ वटा नयाँ गाडीका चेसिस भित्रिएको नेपाल ईन्टरमोडल यातायात विकास समिती आई.सि.पी.कार्यालयका सूचना अधिकृत हरीराज पौडेलले जानकारी दिनु भयो ।
एकिकृत जाँच चौकी (आई.सि.पी.)को व्यवस्थापन कार्य हेरी रहेको नेपाल ईन्टरमोडल यातायात विकास समितीले आई.सि.पी. भन्सार भएर नेपाल भित्रिने सवारी साधान र नेपालबाट बाहिरिने सवारी साधनको व्यवस्थापन गर्ने गरेको छ । समितिले प्रवेश शुल्क , पार्किङ्ग शुल्क , गोदाम भाडा , तौल/काँटा शुल्क असुली गर्ने गरेको नेपाल ईन्टरमोडल यातायात विकास समिती आई.सि.पी.कार्यालयका शाखा अधिकृत तर्कराज जोशीले बताउनु भयो ।