कांग्रेसमा संस्थापन इतर समूहको छलफल निष्कर्ष बिहीन

गौशालाको अनुपम फुडल्याण्डमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरुले सहमतिमा उम्मेदवार तय गर्न सुझाव दिएका छन् ।

इतर समूहका सभापतिका आकांक्षीले बुधबार नै छलफल गरेर टुंगो लगाउने बताएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन अब केही दिन मात्रै बाँकी छ, तर संस्थापन इतरको समूहले सभापतिकै उम्मेदवार तय गर्न सकेको छैन । संस्थापन पक्षमा प्रधानमन्त्री समेत रहेका हालका सभापति शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार बन्ने भए पनि अरु पदका उम्मेदवारको टुंगो लागेको छैन । आउँदो शुक्रबारदेखि सुरु हुने अधिवेशनका लागि उम्मेदवारको टुंगो लगाउने विषयमा दुवै पक्षका बैठकमा अन्तिम चरणको छलफलमा छन् ।

संस्थापन इतर समूहमा शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । उनले रामचन्द्र पौडेललाई सभापति उम्मेदवार प्रस्ताव गर्ने शर्तमा आफ्नो दाबी छोडेको बताइएको छ ।

प्रकाशमान सिंह र शेखर कोइरालाले भने सभापतिमा आफ्नो दाबी छोडेका छैनन्। नेता पौडेलले आफू साझा उम्मेदवार तय गर्ने पक्षमा रहेको भन्दै प्रकाशमान र शेखर मध्ये एक हुने शर्तमा आफ्नो दाबी छोड्न सक्ने बताएका छन् । उनी छलफल जारी रहेको अनुपम फुडल्याण्डबाट निस्केर नेता कृष्णप्रसाद सिटौलासँगको भेटका लागि उनकै निवास गएका छन् । साभार देश सञ्चारबाट