‘उनीहरूले दिएको निर्देशिकाअनुरुप क्यानले कार्य गर्दै आएको थियो । त्यसअनुरूप पनि हाम्रो बजेटमा वृद्धि भएको हो,’ उनले भने, ‘अरू राष्ट्रलाई बजेट बढाएकोबारे हामीलाई थाहा छैन, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भइसकेपछि अन्य देशले जस्तो पाउने रकम आर्थिक रूपमा निलम्बनकै हिसाबले हुनसक्छ हामीले पाइरहेका थिएनौं, तर वृद्धि गरेको बजेटको पैसा हिजो (सोमबार) आइसकेको छ ।’
आईसीसीले सन् २०१६ देखि २०१९ सम्म क्यान प्रशासनलाई निलम्बन गरेको थियो । २०१४ को अन्त्यदेखि आईसीसीले क्यानलाई दिँदै आएको अनुदानमा नियन्त्रण गरेको थियो, जुन अहिलेसम्म जारी छ । क्यानमाथिको निलम्बन फुकुवा भए पनि आईसीसीले तोकेको बजेटमा क्यानले इभेन्टहरू आयोजना गर्दै आएको छ ।
आईसीसीले तोकेको मापदण्डअनुरुप क्यानले वर्ष २०२१ भर चिफ फाइनान्स अफिसर, जनरल म्यानेजर, क्रिकेट म्यानेजर नियुक्त गर्नुका साथै दाङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट, काठमाडौंमा पीएम कप र मेयर कप राष्ट्रिय क्रिकेट, काठमाडौंमा त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । साथै सात प्रदेशमा १० प्रशिक्षक नियुक्त गर्दै क्यानले आफैं लेभल वान अनलाइन प्रशिक्षण कोर्स सञ्चालन गरेको थियो ।
‘हामीले आईसीसीले तोकेको न्युनतम संख्याभन्दा बढी इभेन्ट गर्न सफल भयौं, जसका कारण हामी यो बजेट ल्याउन सफल भएका हौं,’ सिंहले भने, ‘क्यानको बजेट अहिलेसम्म घाटाको बजेट थियो, नयाँ वृद्धि बजेटले ठूलो उत्साह दिएको छ ।’ उनका अनुसार प्रदेश प्रशिक्षक, महिला प्रशिक्षक र मुख्य प्रशिक्षकमा मात्र क्यानले वार्षिक २ करोड हाराहारी खर्च गर्दै आएको छ ।
क्यानले २०२० यता आफ्नोमातहात ३९ जिल्लालाई वार्षिक १ लाख, सात प्रदेशलाई ३ लाख दिँदै आएकोमा २०२२ को बजेटबाट त्यसमा वृद्धि गरिनुका साथै महिला क्रिकेटको ग्रेडिङमा वृद्धि गरिने सिंहले बताए । सात प्रदेशमा प्रशिक्षक क्यानले यसै वर्ष प्रशिक्षक नियुक्त गरेको थियो, जसका कारण पनि ‘स्कोरकार्ड ग्रान्ट’ का लागि नेपाल हकदार बनेको सिंहको दाबी थियो ।
सिंहले भने, ‘आईसीसीले तोकेका सबै गाइडलाइन मिट गरेका थियौं । २०२२ को बजेट हामीले केही समयअघि राम्रै बनाएर आइसीसीमा पठाएका थियौं । त्यहाँबाट हामीले १५ लाख डलर (१८ करोड रुपैयाँ) बजेट माग गरेका थियौं भने ४ देखि ५ करोड रुपैयाँ क्यानले आफ्नै स्रोत (प्रायोजक लगायतबाट भित्र्याउने गरी) बजेट बनाएका थियौं । त्यसमा पनि आईसीसी सकारात्मक छ ।’
अब क्यानले यू–१६ र यू–१९ को महिला र पुरुष राष्ट्रिय प्रतियोगिता पनि गर्ने सिंहले जनाए । क्यानले ७ वर्षपछि यू–१९ पुरुष राष्ट्रिय प्रतियोगिता भर्खर सम्पन्न गरेको हो । महिलाको यू–१६ र यू–१९ प्रतियोगिता पनि आयोजना नभएको त्योभन्दा बढी भइसकेको छ ।