वीरगञ्ज नाका भएर भारतीय धान भित्र्याउदै उद्योगीहरु

वीरगञ्जका चामल उद्योगीले भारतबाट धान भित्र्याउन शुरू गरेका छन् । भारतको बिहार र उत्तरप्रदेश राज्यका विभिन्न ठाउँबाट यहाँका चामल उद्योगीले धान आयात गरिरहेका छन् । नेपाल चामल, तेल, दाल संघका अध्यक्ष सुबोध गुप्ताले स्वदेशी चामल उद्योग चामल उत्पादनको लागि ६० प्रतिशत स्वदेशी धान र ४० प्रतिशत भारतीय धानमा निर्भर रहेको बताउनु भयो । नेपाली धानबाट चामल कम निस्कने तर भारतीय धानको गुणस्तर तथा मोइस्चर राम्रो हुने भएकाले चामल तुलनात्मकरुपमा धेरै निस्कने भएपछि ब्यापारीहरु भारतीय धानको आयाततर्फ आकर्षित भएको उहाँले बताउनु भयो । धान आयातमा भन्सारमा पाँच प्रतिशत भन्सार महसूल लाग्ने गरेको छ । हाल भारतीय सोना मन्सुली धान प्रतिकिलो भारु १८ र जीरा मसिनो प्रतिकिलो भारु ३० मा खरीद भइरहेको व्यवसायीहरु बताउछन् । वीरगञ्ज-पथलैया, वीरगञ्ज-पोखरिया र वीरगञ्ज-कलैया सडकखण्डमा सञ्चालित करीब दुई दर्जन राइस मिलले अहिले सोना मन्सुलीको थोक मूल्य प्रतिकिलो रु ४० र जीरा मसिनो प्रतिकिलो ५४-५५ रुपैयाँमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार थोक मूल्यमा २० प्रतिशत बढी लिएर खुद्रा बिक्री हुने गरेको छ ।