सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ ।

विवाह पञ्चमीमा भारत, बंगलादेश र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् । यद्यपि पछिल्ला वर्ष कोरोना संक्रमणका कारण भक्तजनको संख्या घटेको छ । राम जानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजा अर्चना गर्नाले पारिवारिक सुख शान्ति र हरेक दुःखबाट मुक्ति हुने धार्मिक विश्वास छ ।

यहाँ सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने र सातै दिनलाई रोचक तथा भव्य बनाउने योजना रहेको जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।