राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई आज बुधवार काठमाण्डाैमा सम्बोधन गर्नुहुँदै उहाँले यसै हप्ता नेकपा (एमाले) को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४ औँ महाधिवेशनका तयारीमा जुटेको बताउनुभयो । सबै दलका महाधिवेशनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थिरताका लागि मुख्य दलहरूका बीचमा साझा मुद्दा निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । सबै दलले देशभन्दा ठूलो अरू हुन नसक्ने भावमा साझा मुद्दा निर्माणमा काम गर्नुपर्ने उहाँको विचार थियो ।
नेकपा (माले) का अध्यक्ष सीपी मैनालीले विसं २००७, २०४६ र २०६३ को परिवर्तन बाह्य शक्तिको प्रभावमा भएकाले राजनीतिक स्थिरता कायम हुन नसकेको दाबी गर्नुभयो । सबै दलले देशभक्तिलाई समेटेर साझा मुद्दामा एकता कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता अनिलकुमार झाले राप्रपा नेता कमल थापा उपप्रधानमन्त्री हुँदा उहाँको संयोजकत्वमा रहेको सरकारी वार्ता टोलीसँग मधेश मुद्दाका विषयमा भएको पार्टीको सम्झौता कार्यान्वयन गराउने दिशामा महाधिवेशनले नीति बनाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले सङ्घीयता उपयुक्त छैन भनी अन्तरिम संविधानकालदेखि नै पार्टीले भन्दै आएको उल्लेख गर्नुहुँदै प्रदेशको खर्च कटाएर पालिकालाई दिइ अधिकार क्षेत्र बढाउने गरी राप्रपाले पनि प्रस्ताव पारित गर्न सुझाव दिनुभयो ।
जनता समाजवादीका नेता प्रकाश अधिकारीले विभेद अन्त्य नभइ देशमा विकास नहुने भएकाले संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनमार्फत सबैका मुद्दा समेटेर राष्ट्रिय एकता कायम गरिनुपर्ने उहाँको भनाइ थियो ।