म्याग्दीमा जीप दुर्घटना : ज्यान गुमाउने ४ जना पुगे, ३ जना पोखरा रेफर

ज्यान गुमाउनेमा बेग खोलाकी ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेहरूमा बेग खोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेका डीएसपी राईले बताउनुभयो । घाइतेहरूको टाउको, र शरीरका विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

घाइते भएकाहरूको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । घाइते शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भइरहेको छ । उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप सडकबाट तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ ।