नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको छैन । विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नयाँ भेरियन्टलाई लिएर उडानहरु कसरी गर्ने लगायतका विषयमा भोलि बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकमा छलफल गरी थप निर्णय गर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।
नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा नदेखिएको आत्तिन नपर्ने तर सावधानी भने अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो । नेपालमै भेरियन्ट पहिचान गर्न सक्ने भएकोले कोरोना सङ्क्रमण देखिएकाहरुको यात्रु विवरणको आधारमा जिन सिक्वेसिङ गरिरहेको अधिकारीले बताउनुभयो ।
डाक्टर अधिकारीले दक्षिण अफ्रिका, हङकङ लगायतका ठाउँमा देखिएको भेरियन्ट हाम्रो आउन सक्ने सम्भावना रहेकोले सावधानी अपनाइने बताउनुभयो । नयाँ भेरियन्टको असर र खोपलाई जित्न सक्नेबारेमा पनि थप अनुसन्धान भैरहेको र अहिले विश्व स्वास्थ्य संगठनले नै सङ्क्रमणको उच्च जोखिम भनेकाले सबैले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।