पार्टीभित्र देखिएको कमजोरीको निर्मम आत्मसमीक्षा गरेको अध्यक्ष प्रचण्डको भनाइ

उहाँले केही महिनाभित्र माओवादी केन्द्र एक नम्बर पार्टी बन्ने दाबी समेत गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले आज पालिका तह तथा सम्पर्क समन्वय समिति र विशेष समितिको सम्मेलन आयोजना गरेको छ । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार आजको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ ।

माओवादीले आउने पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । पार्टी सङ्गठनलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक चुनावलाई पनि स्वीकार गरिएको माओवादीले जनाएको छ । गएको मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरिसकेको छ ।