‘लैङ्गिक हिंसाको सुरुवात ठट्टाबाटै हुन्छ’

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि ०७६/०७७ सम्मको तीन वर्षमा ७७ प्रतिशत हिंसाका घटना घरेलु हिंसासँग जोडिएका छन् ।

घरेलु हिंसाविरुद्धका उजुरी मिलापत्रमा टुङ्ग्याउने प्रवृत्तिका कारण महिलाले न्याय पाउन सकेका छैनन् । घरेलु हिंसाका उजुरी मिलापत्र हुनै नसके मात्रै अभियोजनको प्रक्रिया अघि बढाइने गरिएको छ ।

यस्तै, लैङ्गिक हिंसाको सुरुवात ठट्टाबाट सुरु हुने गरेको पनि अध्ययनले देखाएको छ । पिछा गर्ने, सुसेल्ने, जिस्क्याउने, सहमति विना फोटो खिच्ने, बदला लिन गोप्य कुरा सार्वजनिक गर्ने, बलात्कारबारे ठट्टा गर्ने जस्ता प्रवृत्ति लैङ्गिक हिंसा हुन् । यस्तै, नेपाल प्रहरीमा दर्ता भएका कुल अपराधमध्ये ४० प्रतिशत लैङ्गिक हिंसाका घटना छन् ।

त्यसैगरी महिलामाथि हुने यौनजन्य हिंसाका घटनामा ७९ प्रतिशत चिनजानका व्यक्तिहरु रहेका पाइएको छ । यस्तै, महिला भएकै कारण भेदभाव गर्नु वा विभेद गर्नु पनि हिंसा नै हो ।

पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना सार्वजनिक हुने गरे पनि यस्ता घटनामा कमी आउन सकेको छैन । पीडकलाई कारबाही र पीडितलाई सुरक्षाको व्यवस्था नभएकाले हिंसाका धेरै घटना ओझेलमा पर्दै आएका छन् ।