वीरगञ्जमा सवारी पार्किङ्ग व्यवस्थापन तथा दुर्घटना न्युनिकरण सम्बन्धमा सरोकारवालाबिच छलफल भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत विशेष गरी होटल, पार्टी प्यालेस तथा धर्मशालाहरुमा हुने सवारी जाम तथा अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थित गर्ने सम्बन्धमा छलफल भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा भएको छलफलले विवा, व्रतबन्धसहित विभिन्न मेला महोत्सवमा अश्लिल गीत संगीत एवम् सडकमा राति १० बजेपछि आरकेस्टाको नृत्यमा बन्देज लगाउने निर्णय गरेको छ ।
त्यसैगरी सम्बन्धी धर्मशाला, होटल, पार्टीप्यालेसहरुले नै सुरक्षा गार्ड राख्ने र सवारी साधन पार्किङ्गमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने निर्णय गरिएको बैठकमा सहभागी ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
राति १० बजेपछि चर्काे आवाजमा डिजे, बाजा र ब्याण्ड बाजामा रोक लगाउने निर्णय गरिएको छ । घण्टाघरनजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होटलहरुले वि.पि पार्क, माईस्थान आदर्शनगर क्षेत्रकाले पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ता बजार एवम् ईदगाहा क्षेत्रको खाली ठाउँमा पार्किंग गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन अन्सारी, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की लगायतको उपस्थिती रहेको थियो ।