४८ भोल्टको लिड एसिड ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा ४५ देखि ५० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने १८ वर्षीय पोखरेलले बताए । १२ भोल्टको ब्याट्रीमा ३२.५ एम्पियर सिरिज कन्भर्ट गरेर ४८ भोल्ट बनाएको उनले जानकारी दिए ।
एकपटक चार्ज गरेपछि मोटरसाइकल एक सय किलोमिटर गुड्न सक्ने सागरले बताए । ‘करिब एक वर्षको प्रयासबाट यो मोटरसाइकल बनाउन सफल भएको हुँ, पोखरेलले भने, ‘एक लाख रुपैयाँ हाराहारीमा मोटरसाइकल बन्ने रहेछ ।’
मोटरसाइकलमा ब्याक गियर र तीनथरि ब्रेकको विशेषता भएको सागरले बताए । उकालो सडकमा ब्याक गियर उपयोगी हुने उनको भनाइ छ । मोटरसाइकलमा भएको ई ब्रेकिङले दुर्घटनाबाट जोगाउने सागरले दावी गरे ।
लिड एसिड ब्याट्री तीन वर्षसम्म टिक्ने र लिथेयम ब्याट्री प्रयोग गरेमा ६ वर्षसम्म टिक्ने उनले बताए । राज्यका सम्बन्धित निकायले सहयोग गरेमा व्यवसायिक रुपमा विद्युतीय मोटरसाइकल स्वदेशमै बनाउन सकिने सागरको विश्वास छ ।
‘अबको युग विद्युतीय सवारीको हो’ सागर भन्छन्, ‘यो वातावरणमैत्री पनि हुन्छ,पेट्रोलमा हुने खर्च जोगिएर ब्यापार घाटा कम गर्न पनि सकिन्छ ।’ आफूले सानै उमेरदेखि एक्साभेटर, रोबोट, भ्याकुम क्लिनर लगायतका विद्युतीय सामग्रीका नमूना बनाउँदै आएको सागरले सुनाए ।