पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीस्थित श्री देवनन्दन देवराज उच्च माविका विद्यार्थीहरु विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा शिक्षकको अभाव, पुस्तकको समस्या, भौतिक पूर्वाधारको समस्या लगायतका समस्याहरुको समाधान गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा ८ जना मात्रै शिक्षक अपर्याप्त भएको भन्दै विद्यार्थीहरुले विषयगत शिक्षकको व्यवस्था गरेर पठनपाठनलाई तिव्रता दिनुपर्ने माग गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले वडा अध्यक्ष पूनिलाल साह तेली र बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहविरुद्ध नाराबाजी गरेका थिए ।
वडा अध्यक्ष साहको नेतृत्वमा रहेको बिद्यालय व्यवस्थापन समितिले आफ्नो जिम्मेवारी बहन नगरी राजनीतिक खिचातानीका कारण विद्यार्थीहरुको भविष्यसँग खेलवाँड गरेको विद्यार्थीहरुको आरोप छ । आक्रोशित विद्यार्थीहरुको समूहले विरोध गर्ने क्रममा बाटो अवरुद्ध हुँदा आवतजावतसमेत केही बेर ठप्प भएको थियो ।