प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहेको बार एसोसिएसनले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले चौथो चरणको आन्दोलन घोषणा गरेको महासचिब लीलामणि पौडेलले जानकारी दिए । वार्ताका लागि भन्दै प्रधानन्यायाधीश राणाले शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएकै दिन बारले चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।
महाससचिब पौडेलका अनुसार सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरिएको छ । सोमबार देशभरका अदालतमा कानून व्यवसायीले बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ ।
यस्तै मुद्दा दर्ता नगर्ने, जिल्ला र उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने, संसदमा रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने र काठमाडौँ केन्द्रित कार्यक्रम गर्ने तय भएको छ ।
महासचिब पौडेलले शुक्रबार राणाले पठाएको पत्रबारे छलफल नभएको बताए । उनले राजीनामा दिने भएमात्र वार्ता बस्ने नत्र वार्तामा नबस्ने बताए । उनले राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताए । यस्तै बारले बिहीबार र शुक्रबार बारको आन्दोलनमा प्रहरी बल प्रयोग गरिएकोमा आपत्ति जनाएको छ ।