विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे पाँचौ दिनमा ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्यांक विभाग र यसका संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेकाले सच्याउन आग्रह गरेका छन्।
जात/जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा, धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरू, धर्म र भाषाको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन्।
यता, महानिर्देशक नेबिनलाल श्रेष्ठले भने गणकले मनपरी र व्यक्तिगत प्रश्न सोध्न नमिल्ने भन्दै उनीहरूले त्यसो गरे कार्बाही हुने बताए । तालिमका क्रममा गणकहरूलाई के-के सोध्न मिल्ने र के-के नमिल्ने भनेर तालिम दिइएको उनले प्रष्ट पारे ।