आजदेखि दीर्घ रोगीलाई फाइजर खोप दिइँदै, यी अस्पतालमा लगाइन्छ खोप

१२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो।

यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन ।

सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट दिइनेछ ।

खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

खोप कसले पाउने ?

– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी

– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति

– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी

– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी

– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी

– अङ्ग प्रत्यारोपण गरेका व्यक्ति

– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी

– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति

– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्ति

कसले लगाउन मिल्दैन ?

– कोभिड-१९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।

– १२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले पनि याे खोप लगाउनु हुँदैन ।