विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएको थियो ।
ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो ।
यसैबीच, अमेरिकाले काबुलमा भएको ड्रोन आक्रमणका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ । विद्रोही समूह आईएसको रकेट आक्रमणलाई रोक्न अमेरिकाले ड्रोन आक्रमण गरेको थियो । यो आक्रमणमा बालबालिकासहित केही नागरिकको ज्यान गए पछि यसबारे अनुसन्धान थालिएको हो । अमेरिकी सेना बाहिरिएसँगै तालिबानले उत्सव मनाउन थालेको छ ।
अफगानिस्तानबाट बाहिरिएसँगै अफगानिस्तान, सिरिया, इराक र यमनमा विद्रोहीलाई परास्त गर्न अमेरिका सफल भएको विश्लेषण गरिएको छ। सन् १९४५ सम्म अमेरिकाले लगभग ठूला युद्ध जितेको थियो । तर, त्यस पछि कमै मात्र युद्धमा अमेरिकाले जित आफ्नो पक्षमा पारेको बीबीसीले जनाएको छ ।