‘कोभिडका कारण विकासका काम हुन सकेनन् । त्यसमाथि यसपालि बर्खा धेरै भयो,’ उनले भने, ‘अहिले सिमेन्ट उत्पादकहरूको अवस्था राम्रो छैन । दुई वर्षभन्दा अगाडिको तुलनामा वार्षिक १० प्रतिशत माग घटिरहेको छ ।’ भूकम्पपछि सिमेन्टको राम्रो बजार थियो । त्यसरी नै १५/२० प्रतिशत बजार बढ्छ भनेर उद्योगीहरूले उत्पादन बढाए । तर झन् घटेको उनले बताए ।
‘अहिले कुल उत्पादन क्षमताको ५० प्रतिशत पनि माग छैन । ६१ वटा उद्योग छन्,’ उनले थपे, ‘यहाँको सिमेन्ट उद्योगको उत्पादन क्षमता वार्षिक २५ मिलियन टन छ । देशको कुल खपतको वार्षिक ४० प्रतिशत मात्रै माग छ । स्थिति राम्रो छैन ।’ कोभिड र बर्खाका कारण अहिले २० प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालन भइरहेको उनको भनाइ छ । ‘दसैंपछि बढ्ला । दुई वर्षअगाडि भने वार्षिक १० मिलियन टन सिमेन्टको माग थियो । गत वर्ष ८/९ मिलियन टन खपत भएको थियो,’ उनले भने, ‘बढ्दै गएको भए १२ मिलियन टनसम्म पुथ्यो ।’
उद्योगीहरूले सिमेन्टमा आत्मनिर्भर भएको बताउँदै यसलाई निर्यात गर्न सरकारको सहयोग खोजिरहेका छन् । ‘हामीले भारतमा वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सक्छौं,’ थापाले भने, ‘भारतीय सीमासँगको एक सय किलोमिटर क्षेत्रमा सिमेन्ट ठूलो परिमाणमा खपत गर्न सकिन्छ । तर यसमा सरकारले पहल गरिदिनुपर्यो ।’ ढुवानी खर्च सबै गरेर यहाँको सिमेन्टको उत्पादन लागत भारतीय बजारको तुलनामा १०–१५ प्रतिशत महँगो पर्ने भएकाले सरकारले सहुलियत दिनुपर्ने उनको भनाइ छ । भन्सार विभागको तथ्यांकअनुसार हरेक वर्ष अर्बौं रुपैयाँको कोइला भित्रिने गरेको छ । अर्बौं रुपैयाँको कोइला भित्रिएसँगै यसको परिमाणसमेत बढेको छ ।
पाँच आर्थिक वर्षको तुलना गर्दा कोइला आयात बढिरहेको विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७३/७४ मा १३ अर्ब २७ करोड २६ लाख ६४ हजार रुपैयाँ बराबरको ९ लाख ९२ हजार ४ सय ३४ टन अन्य कोइला आयात भएको विभागको तथ्यांक छ । २०७४/७५ मा १८ अर्ब ४२ करोड ३४ लाख २ हजार रुपैयाँ बराबरको १३ लाख २ हजार ९ सय ६२ टन, २०७५/७६ मा २६ अर्ब २५ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको १६ लाख ६४ हजार ४ सय ९ टन कोइला आएको देखिन्छ । २०७६/७७ मा २६ अर्ब २५ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको १३ लाख ३७ हजार २ सय १२ टन र २०७७/७८ मा २५ अर्ब ७८ करोड ६० लाख ९९ हजार रुपैयाँ बराबरको १९ लाख ११ हजार ५ सय ९५ टन कोइला भित्रिएको विभागले जानकारी दिएको छ ।
पहिला भारतबाट क्लिंकर आउने तर अहिले नेपालमै बन्ने भएकाले कोइला धेरै भित्रिएको संघका अध्यक्ष थापाले बताए । ‘४ वर्षदेखि क्लिंकरको उत्पादन बढेको छ,’ उनले भने, ‘क्लिंकर पहिला आयात हुन्थ्यो, अहिले हुँदैन । त्यसैले कोइला आयात बढेको हो ।’ सिमेन्टको कच्चापदार्थ कोइला हो । यो नेपालमा नपाइने भएकाले बाहिरबाट आयात गरिरहेको उनले जानकारी दिए । थापाका अनुसार सिमेन्टका लागि राम्रो खालको कोइला चाहिन्छ । साउथ अफ्रिका र अस्ट्रेलियाबाट राम्रो गुणस्तरको आरबी २ कोइला आयात भइरहेको उनको भनाइ छ ।
यससँंगै भन्सारको तथ्यांकमा बिटुमिन कोइला आयातसमेत बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा ८३ हजार रुपैयाँ बराबरको ६ सय ५० किलो, २०७४/७५ मा १ लाख २० हजार रुपैयाँ बराबरको तीन टन, २०७५/७६ मा १३ हजार रुपैयाँ बराबरको एक टन र २०७७/७८ मा २९ लाख ७६ हजार रुपैयाँ बराबरको दुई सय ७ टन बिटुमिन कोइला आयात भएको छ । २०७६/७७ भने बिटुमिन कोइला भित्रिएको तथ्यांकमा देखिँदैन ।
अन्य कोइला भुटान, चीन, भारत, इन्डोनेसिया, साउथ अफ्रिका, युनाइटेड अरब इमिरेट्स र अमेरिकाबाट आयात हुने गरेको छ । बिटुमिन कोइला चीन र भारतबाट आउने गरेको छ । विभागले आयातित बिटुमिन र अन्य कोइलाबाट आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ३७ करोड ७३ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै २०७४/७५ मा ३ अर्ब ४४ करोड १५ लाख १३ हजार, २०७५/७६ मा ४ अर्ब ८९ करोढ ९९ लाख ९३ हजार र २०७६/७७ मा ३ अर्ब ५९ करोड ९ लाख २० हजार विभागले राजस्व संकलन गरेको छ । २०७७/७८ मा ४ अर्ब ८१ करोड ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यहाँको सिमेन्ट उद्योगले ओपीसी, पीपीसी र पीएसी गरि तीन प्रकारका सिमेन्ट उत्पादन गरिरहेका छन् । ओपीसीमा ३३, ४३ र ५३ ग्रेडका सिमेन्ट उत्पादन भइरहेको उनले जानकारी दिए ।
करिब चार वर्षअघि पूर्वोत्तर भारतको मेघालय र असमबाट पत्थर कोइला आयात हुन्थ्यो । पर्यावरणीय कारण देखाउँदै भारतले उत्खनन र निर्यातमा रोक लगाएपछि नेपाली आयातकर्ताले अमेरिका, दक्षिण अफ्रिका र इन्डोनेसियाबाट कोइला भित्र्याइरहेका छन् । आयातकर्ताले धुलो खालको कोइला भने भुटानबाट पनि ल्याइरहेका छन् । विगतमा पूर्वोत्तर भारतको असम र मेघालयवाट अत्यधिक कोइला आयात गर्ने व्यवसायीले अहिले डलर खर्चिएर तेस्रो देशबाट कोइला भित्र्याइरहेका छन् । मूलतः नेपाली सिमेन्ट उद्योगले इन्डोनेसियाली र अफ्रिकी कोइला प्रयोग गरिरहेका छन् । इँटा उद्योगहरूले भने अमेरिकी र भुटानी धूले कोइला बढी प्रयोग गर्ने गरेको पाइएको छ ।
गुणस्तरका हिसाबले समुद्रपारको कोइला राम्रो मानिन्छ । तर मूल्यका हिसाबले भारतीय कोइला सस्तो पर्न जान्छ । भारतीय कोइला प्रतिटन दुई हजार सस्तो पर्छ । गत वर्ष प्रतिटन ९५ डलरमा आयात भएको अमेरिकी कोइला अहिले डेढ सय डलर पुगेको छ ।