मङ्सिरभित्र महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई देउवाकाे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदाे मङ्सिरभित्र सम्पन्न हुने गरी १४ औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ ।

आज मङ्गलवार सिंहदरबारमा रहेकाे पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मङ्सिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै त्यहीअनुसारको कार्यतालिका बनाउन सचेत गराउनुभयो ।

पार्टी सभापतिले मङ्सिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मङ्सिरभित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ । महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीका लागि पनि तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेसले १४ औँ महाधिवेशन आउँदाे मङ्सिर ९ देखि १२ गतेसम्म काठमाण्डाैमा गर्ने तय गरिएको छ । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाइ भएपछि सभापति देउवाले मङ्सिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिनुभएको हो ।

 

अन्तिम अपडेट: कात्तिक ९, २०७८