टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले ओमानलाई २६ रनले हरायो

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।

बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय पारी खेले । ओमानका बिलाल खान र फायज बटले ३/३ विकेट लिए । कालिमउल्लाहले २ विकेट लिए । पहिलो चरणको समूह ‘बी’ मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो ।

ओमानले पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । ओमानले पनि २ खेलमा २ अंक जोडेको छ । हिजो भएको पहिलो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई १७ रनले हराउँदै दोस्रो जित निकालेको छ ।