राष्ट्रसङ्घको महासभामा परराष्ट्रमन्त्रीकाे सम्बोधन – ‘नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ’

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नेपालका २० प्रतिशत नागरिकलाई  कोभिड-१९ विरुद्धको खोप लगाइसकेको पनि जानकारी दिनुभयो ।

खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताउनुभयो। नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको बताउनुभयो ।

यस्तै, परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसको कोभिड-१९ का कारण ज्यान गएको भन्दै दु:ख व्यक्त गर्नुभयो । उहाँले कोरोना महामारीको यो सङ्कटले संसारलाई नै पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको बताउनुभयो ।

यस्तै, कोरोनाका कारण थप १५० करोड मानिस चरम गरिबीमा धकेलिएका पनि उहाँले बताउनु भएको छ । कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका पनि परराष्ट्रमन्त्री खड्काको भनाइ छ ।

उहाँले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री खड्काले कोभिड-१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसङ्घले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो।