काठमाण्डाै – राष्ट्रिय सभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज बसेको राष्ट्रिय सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।
सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथिको दफाबार छलफल अगाडि बढाउनुभयो। दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् ।
र सभाले दुवै विधेयक बहुमतले पारित गर्यो । दुवै विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमवार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधि सभामै पठाएको छ ।
अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाले पारित गरेको सन्देश पेस हुनेछ । र प्रतिनिधि सभाले सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जाने छ ।