नारायणी आँखा अस्पतालका सञ्चालक डा. पदमराज विष्ट २ पटकको लकडाउनले भारतीय बिरामीको चाप घटेको बताउछन् । ‘सीमानजिक भएकाले हालका दिनहरूमा हाम्रो अस्पतालमा भारतीय बिरामीहरू जसोतसो आइरहेका छन्, सीमाबाट टाढा रहेका अस्पतालमाहरूमा पक्कै पनि भारतीय बिरामी कम नै छन्,’ उनले भने, ‘मोटरसाइकल, टाँगा तथा निजी चारपांग्रे सवारी चढेर भारतीय बिरामीहरू सहजै यहाँ आउन नसक्ने भएकाले पहिलेकै जस्तो भने छैन ।’
कुनै समय नेपालका सीमावर्ती गाउँका बिरामीहरूको पनि आँखा उपचारको गन्तव्य भारतको सीतापुर आँखा अस्पताल हुन्थ्यो । बिस्तारै नेपालका आँखा अस्पतालहरूको गुणस्तरीय सेवाबारे चर्चा फैलिँदै गएपछि भारतीयहरू यता आउन थाले । यहाँका आँखा अस्पतालमा सामान्य अवस्थामा कुल बिरामीमध्ये करिब ६० प्रतिशत भारतीय नै हुन्छन् ।
विशेष गरी भारतको बिहार र उत्तरप्रदेश राज्यबाट बिरामी आउने गरेका छन् । सीमावर्ती भारतीय सहरहरूमा सामान्य मोतीबिन्दुको शल्यक्रिया गर्दा पनि कम्तीमा १० हजार रुपैयाँ खर्च हुने र सेवा पनि गुणस्तरीय नहुने समस्या छ । तर यहाँ सरदर २ हजार रुपैयाँ खर्च गरेर सहजै शल्यक्रिया गर्न सकिने भएकाले भारतीय बिरामीको आकर्षण नेपाली आँखा अस्पताल छ ।