२४ घण्टामा एक हजार ९५ जना नयाँ सङ्क्रमित थपिएकामा दुई हजार नौ सय ५७ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार नौ सय ५७ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५२ हजार एक सय ७० पुगेको छ ।
२४ घण्टामा १३ हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जना अर्थात् सात दशमलव ९२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हिजो आइतवार पनि सङ्क्रमण दर सात प्रतिशतमा झरेको थियो । अहिलेसम्म नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७४ हजार ६ सय २९ पुगेको छ ।
यस्तै यही अवधिमा थप आठ जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि २२ हजार तीन सय जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये तीन सय ७१ जनाको आईसीयू र एक सय आठ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
२४ घण्टामा २२ हजार एक सय ९२ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ५५ लाख ८८ हजार पाँच सय १७ जनाले पूर्ण मात्रा र ६२ लाख १५ हजार आठ सय ५६ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।